


काठमाडौँ : नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीभित्रको आगामी रणनीति र नेतृत्वबारे छलफल गर्न आयोजना गरेको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदैछ। सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा हुने तीनदिने भेलाको उद्घाटन पूर्वसभापति शेरबहादुर देउवाले गर्ने कार्यक्रम छ ।
भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला छन्। इतर पक्षका शीर्ष नेता देउवा हङकङ भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका हुन्। संस्थापन इतर समूहले उनलाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्षसमेत व्यवस्थापन गरेको छ।
आजको उद्घाटन समारोहमा देउवासहित कांग्रेसका शीर्ष नेताहरूले सम्बोधन गर्ने नेता मीन विश्वकर्माले जानकारी दिए । भोलि र पर्सि बन्दसत्र सञ्चालन हुनेछ। भेलामा देशभरबाट पाँच हजारभन्दा बढी नेता–कार्यकर्ता सहभागी हुने आयोजकको दाबी छ ।
भेलामा राजनीतिक प्रतिवेदनसमेत प्रस्तुत हुनेछ। प्रतिवेदनमाथि छलफल गर्दै पार्टीभित्रको वर्तमान अवस्था, संगठन सुदृढीकरण र आगामी राजनीतिक दिशाबारे धारणा तय गर्ने तयारी छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |