


कास्की : मोदीखोलामा आएको बाढीले कास्की र पर्वत जोड्ने दुईवटा मेटल पुल बगाउनुका साथै अन्नपूर्ण माता मन्दिरको आधा भागमा क्षति पुर्याएको छ। बाढीका कारण मन्दिरमा एक सन्तपुजारी र दुई भक्तजन गरी तीन जना फसेका छन्।
सशस्त्र प्रहरीका अनुसार अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमामा पर्ने नयाँपुल–बिरेठाँटी सडकखण्डनजिकै सोमबार राति करिब २ः१५ बजे मोदीखोलामा बाढी आएको थियो। बाढीले मन्दिरसम्म आवतजावत गर्न प्रयोग हुने कास्की र पर्वततर्फका दुवै मेटल पुल बगाएको हो।
मन्दिरमा तीन जना फसेको खबर पाएपछि उद्धारका लागि सुरक्षा टोली परिचालन गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट चार जना रोप रेस्क्यु र तीन जना गोताखोरसहितको टोली आवश्यक उद्धार सामग्री लिएर घटनास्थल पुगेको छ।
जोखिमका बीच मन्दिरमा फसेका तीनै जनाको उद्धार प्रयास जारी रहेको सशस्त्र प्रहरीले जनाएको छ। बाढीबाट भएको क्षतिको थप विवरण आउन बाँकी छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |