

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान र पद्धतिविपरीत गतिविधिमा संलग्न जोकोही नेता तथा कार्यकर्तालाई कडा कारबाही गर्ने चेतावनी दिएको छ ।
शुक्रबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको बैठकपछि समितिका संयोजक तारामान गुरुङले पार्टीको मर्यादा र विधि उल्लंघन गर्ने कसैलाई पनि छुट नदिइने स्पष्ट पारे । गत आम निर्वाचनका क्रममा पार्टीभित्र भएका अन्तर्घात र अनुशासनहीनताका सम्बन्धमा विभिन्न जिल्लाबाट ७ सय ५४ वटा उजुरी परेको र तीमाथि छानबिन भइरहेको गुरुङले जानकारी दिए । १५औँ महाधिवेशनको प्रक्रिया सुरु हुनुअघि नै सबै उजुरीको किनार लगाउने समितिको तयारी छ ।
हालै डा। शशांक कोइरालाको संयोजकत्वमा भएको भेलामा पूर्वसभापति शेरबहादुर देउवालाई ‘सभापति’को नेमप्लेटसहित गरिएको स्वागत र नक्कली लेटरप्याड प्रयोगप्रति समितिले गम्भीर आपत्ति जनाएको छ । गगन थापा नेतृत्वको कार्यसमिति नै आधिकारिक रहेको दाबी गर्दै समितिले विशेष महाधिवेशन, निर्वाचन आयोग र सर्वोच्च अदालतबाट वैधानिकता प्राप्त भइसकेकाले पार्टी हितविपरीतका गतिविधिलाई कडा निगरानीमा राखिने जनाएको छ ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |