

काठमाडौँ : पूर्वीय दर्शनमा सर्वोच्च ज्ञान र वैराग्यको केन्द्र मानिने कैलाश पर्वत (घाङ रिम्पोछे) र यस आसपासको हिमाली क्षेत्रमा जलवायु परिवर्तन र वातावरणीय जोखिम बढ्दै गएको छ। तल्लो तटीय देशहरूमा प्राकृतिक विपद्को जोखिम चुलिँदै जाँदासमेत हिमाली बेसिनमा रहेका राष्ट्रहरूबीच साझा पहल हुन नसकेको विज्ञहरूले बताएका छन्।
तामाङ र तिब्बती भाषामा (घाङ रिम्पोछे) अर्थात् अति पूजनीय हिमालका रूपमा चिनिने कैलाश क्षेत्र परापूर्वकालदेखि ऋषिमुनिहरूले गुफामा बसेर ब्रह्माण्डीय ज्ञान आर्जन गरेको पवित्र थलो भएको हिन्दू तथा बौद्ध धर्म अध्येता एवं विश्लेषक बुद्ध छिरिङ मोक्तानले बताए। ‘हामीकहाँ पुराना मान्छेले सबै कुरा भनेका छन्, तर त्यसलाई सही तरिकाले मञ्चमा राख्न सकेका छैनौँ’ काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै विश्लेषक मोक्तानले भने -‘हाम्रा ऋषिमुनिहरूले गुफामा बसेर जुन ज्ञान ब्रह्माण्डलाई दिए’,त्यो क्षेत्रको वातावरणीय र भूराजनीतिक सुरक्षाका लागि अब साझा अवधारणा बनाउन आवश्यक भइसकेको छ’।
चीन, नेपाल, भारत, भुटान, बाङ्गलादेश, पाकिस्तान, अफगानिस्तानदेखि इरानसम्म फैलिएको यो बेसिन क्षेत्रमा विपद् आउँदा तिब्बतदेखि चितवन र बिहारसम्मका जनता प्रत्यक्ष प्रभावित हुने भएकाले वातावरणीय सुरक्षाका लागि छुट्टै सेक्युरिटी प्याक्टु को खाँचो औँल्याइएको छ।
भारत र पाकिस्तानको शक्ति सङ्घर्षले सार्क निष्क्रिय बनेजस्तै चीन र भारतको पावर कन्टेस्टेसन तथा अमेरिकी उपस्थितिका कारण हिमाली क्षेत्रको सुरक्षा ओझेलमा परेको मोक्तानको भनाइ छ। जिओपोलिटिकल कन्टेस्टेसनले गर्दा यो तेस्रो ध्रुवमा कसले कब्जा गर्ने भन्ने होडबाजी चल्यो भने साना देशहरूको अस्तित्व नै सङ्कटमा पर्छ,उनले थपे, ‘त्यसैले अन्तर्राष्ट्रिय कानुनको पालना गराउन र हिमाली पर्यावरण जोगाउन अब टेबलमा विज्ञहरूलाई राखेर दरिलो कूटनीतिक पहल सुरु गर्न ढिला गर्नु हुँदैन ‘।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |