

काठमाडौँ : विपद् व्यवस्थापन र राष्ट्रिय मुद्दामा साझा सहमति जुटाउने प्रयासस्वरूप राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बुधबार तेस्रो पटक सर्वदलीय बैठक बोलाएका छन् । आज बस्ने बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई अनिवार्य सहभागिताका लागि आग्रह गरिएको छ।
यसअघि रास्वपाले भदौ १० र १६ गते पनि सर्वदलीय छलफल आयोजना गरेको थियो । भदौ १० को पहिलो बैठकले बाढी पहिरो प्रभावित क्षेत्रको खोजी तथा उद्धारलाई तीव्र बनाउन र राहत पुनर्स्थापनाका लागि उच्चस्तरीय संयन्त्र गठन गर्ने निर्णय गरेको थियो।
त्यस्तै, भोटेकोशीमा आएको विनाशकारी बाढीपछि भदौ १६ मा बसेको दोस्रो तहका नेताहरूको बैठकले विपद्को दिगो समाधान र पूर्वतयारीका लागि १० बुँदे साझा सङ्कल्प प्रस्ताव पारित गरेको थियो। लगातारका प्राकृतिक विपद् र मुलुकको समसामयिक राजनीतिक परिस्थितिमाथि साझा दृष्टिकोण बनाउन लामिछानेले यो शृङ्खलाबद्ध सर्वदलीय संवादलाई निरन्तरता दिएका हुन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |