काठमाडौँ : नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड)ले समृद्ध नेपाल निर्माणका लागि अब युवा नेतृत्वले राजनीतिमा क्रमभंगता गर्नुपर्ने बताएका छन्।
नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई आइतबार सम्बोधन गर्दै उनले कांग्रेस सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई राजनीतिक फड्को मार्ने जिम्मेवारी सुम्पिएका हुन्। विगतमा युद्ध, शान्ति प्रक्रिया, संविधान र गणतन्त्र स्थापनाका क्रममा आफूले निरन्तर क्रमभंगता गरेको स्मरण गर्दै प्रचण्डले अब आफूलाई त्यस्तो फड्को मार्न कठिन भइरहेको स्वीकारे। अबको पालो गगनजी र रविजीहरूकै हो, तपाईंहरूले क्रमभंग गर्दै लैजानुस्, अनि मात्र देश बन्छ, उनले भने।
सम्बोधनका क्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले कांग्रेसभित्रका सबै पक्षलाई समेटेर पार्टीलाई एकताबद्ध बनाउन थापालाई सुझाव दिए। थापा अब पार्टीको दायराभन्दा माथि उठेर मुलुककै नेतृत्व सम्हाल्ने बाटोमा अघि बढ्नुपर्ने उल्लेख गर्दै त्यसका लागि आफ्नो तर्फबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता समेत व्यक्त गरे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |