हेटौंडा : निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा पक्षका केही कांग्रेस सांसद असन्तुष्ट रहेकाले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मंगलबार प्रदेशसभाबाट विश्वासको मत पाउन सकस देखिएको छ। अपराह्न ४ बजे बस्ने बैठकमा बानियाँले विश्वासको मतका लागि प्रस्ताव पेस गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयले जनाएको छ।
साउन २० गते एमाले–कांग्रेस गठबन्धनबाट मुख्यमन्त्री बनेका बानियाँलाई संवैधानिक प्रावधानअनुसार एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ। सत्तारूढ गठबन्धनमा कांग्रेसका ३७ र एमालेका २७ गरी ६४ सांसद छन्। बानियाँलाई ५६ सांसदको समर्थन आवश्यक पर्छ। बहादुर लामा पक्षीय १४ सांसदले बानियाँलाई असहयोग गर्ने रणनीतिमा लागेका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेस दुवैले आफ्ना सांसदलाई समर्थनको ह्वीप जारी गरे पनि लामाले आफ्नो समूहका तीन सांसदलाई मन्त्री बनाउनुपर्ने अडान कायमै राखेका छन्। यसले अन्तिम घडीसम्म बानियाँको समर्थन सङ्ख्यामा अनिश्चितता बढाएको छ।
प्रदेशसभामा प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका २१, राप्रपाका सभामुखसहित १३ , एकीकृत समाजवादीका ७, नेपाल मजदूर किसान पार्टीका ३ र हाम्रो नेपाली पार्टीका २ सांसद छन्।