


काठमाडौँ : सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवार तथा गृह मन्त्रालयबीच विभिन्न माग सम्बोधन गर्ने सहमति भएको छ।
सहमतिअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने भएको छ। घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने सहमतिमा उल्लेख छ।
सहमतिपत्रमा देवानगञ्ज-३ स्थित मदरसाको कानुनी हैसियतलगायत सम्बन्धित विषयमा तत्काल छानबिन सुरु गर्ने, मृतकका प्रत्येक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने तथा छानबिन समितिको प्रतिवेदनका सुझाव र सिफारिस कानुनबमोजिम कार्यान्वयन गर्ने प्रतिबद्धता जनाइएको छ। मृतकहरूको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने र शुक्रबार दिउँसो २ बजे दाहसंस्कार गर्ने विषयमा पनि दुवै पक्षबीच सहमति भएको छ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |