काठमाडौँ : गौरव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी)ले भारतद्वारा अतिक्रमित भूभाग लिपुलेक, कालापानी र लिम्पियाधुरा फिर्ता गर्न सरकारलाई दबाब दिँदै भारतविरुद्ध कडा आन्दोलनको घोषणा गरेको छ।
चिनियाँ विदेशमन्त्री वाङ यीको हालैको भारत भ्रमणका क्रममा भएको दुईपक्षीय सीमा व्यापार सम्झौतामा नेपाली भूभागसमेत समावेश भएको भन्दै माओवादीले त्यसको घोर भर्त्सना गरेको हो।
पार्टीले एक विज्ञप्ति जारी गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरामा भारतीय सेनाको लामो समयदेखिको उपस्थितिलाई सार्वभौमिकतामाथिको ठाडो हस्तक्षेप बताएको छ। विज्ञप्तिमा भारत र चीनबीच कुनै पनि सहमति गर्दा नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई बेवास्ता गरिएको भन्दै त्यसको निन्दा गरिएको छ।
पार्टीका महासचिव गौरवले जारी गरेको विज्ञप्तिमा वर्तमान सरकारले यस विषयमा देखाएको मौनता र उदासीनतालाई नेपालको राष्ट्रियताप्रति गरिएको गम्भीर खेलबाडको संज्ञा दिइएको छ। सरकारले अविलम्ब भारतीय सेनालाई फिर्ता पठाउन र अतिक्रमित भूमि फिर्ता ल्याउन कूटनीतिक पहल गर्नुपर्ने माग पनि विज्ञप्तिमा उल्लेख छ।
माओवादीले यसै विषयमा जनस्तरबाट सशक्त प्रतिरोधका लागि आह्वान गर्दै युवाहरूलाई आन्दोलनमा सहभागी हुन आग्रह गरेको छ।