काठमाडौं : जेनजी प्रदर्शनका क्रममा भएको तोडफोड र आगजनीका कारण बीमा कम्पनीहरूमा २२ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको दाबी दर्ता भएको छ। नेपाल बीमा प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी बागमती प्रदेशमा परेको छ, जहाँ मात्रै करिब १८ अर्ब रुपैयाँ बराबरको बीमा दाबी दर्ता भएको छ।
गत भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सरकारी तथा निजी सम्पत्तिमा आगजनी, तोडफोडलगायतका घटनाबाट ठूलो मात्रामा क्षति भएको थियो। प्राधिकरणले निजी सम्पत्तिमा भएको क्षतिबापत बीमा कम्पनीहरूमा दाबी आएको जनाएको छ।
प्राधिकरणका अनुसार माइक्रो इन्स्योरेन्स कम्पनीसहित १८ वटा बीमा कम्पनीमा दुई हजार ४७८ वटा दाबीको आवेदन परेको छ। तीमध्ये सबैभन्दा धेरै बागमती प्रदेशबाट एक हजार ३४३ निवेदन दर्ता भएका छन्। त्यसपछि कोशीमा ३२२, गण्डकीमा १८४, लुम्बिनीमा २०२, मधेशमा २४६, सुदूरपश्चिममा १५९ र कर्णालीमा २२ वटा निवेदन परेका छन्।
बीमाका प्रकारअनुसार सम्पत्ति बीमा अन्तर्गत ५३८, मोटर बीमा १ हजार ७७८, इञ्जिनियरिङ तथा ठेकेदार जोखिमसम्बन्धी १३२, परिवहन बीमा ११ र अन्यमा १९ निवेदन परेका छन्।
बीमा कम्पनीगत हिसाबमा ओरियन्टल इन्स्योरेन्समा मात्रै पाँच अर्ब २२ करोड रुपैयाँभन्दा बढीको दाबी दर्ता भएको छ भने सिद्धार्थ इन्स्योरेन्समा पाँच अर्ब आठ करोड रुपैयाँ बराबरको दाबी पुगेको प्राधिकरणले जनाएको छ।
‘तोडफोड र आगजनीबाट भएको क्षतिको विवरण अझै संकलन भइरहेको छ,’ प्राधिकरणले जनाएको छ, ‘भौतिक सम्पत्तिमा ठूलो क्षति भएकाले दाबीको मात्रा अझै बढ्न सक्ने देखिन्छ।’