काठमाडौं : ३४ दिनको मौनता तोड्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज पार्टी केन्द्रीय कार्यसमिति बैठकमार्फत पहिलो पटक सार्वजनिक हुने तयारीमा छन् ।
बुढानीलकण्ठस्थित निवासमा ‘जेनजी आन्दोलन’ का क्रममा आक्रमणमा परेका देउवा र उनकी श्रीमती आरजु राणा देउवा उपचारपश्चात् पहिलो पटक देखिन लागेका हुन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेगरी बैठक बोलाइएको कांग्रेसले जनाएको छ। बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित सदस्य तथा सातै प्रदेश सभापतिहरू सहभागी हुनेछन्। अधिकांश नेता बैठकमा सहभागी हुन काठमाडौं आइपुगेका छन्।
गत महिनाको आन्दोलनका क्रममा देउवा दम्पतीमाथि भएको आक्रमणपछि उनीहरूको बुढानीलकण्ठस्थित निवासमा आगजनी समेत भएको थियो। त्यसयता उनीहरू आफन्तको घरमा बस्दै आएका छन्।
आजको बैठकमा हालको राजनीतिक परिस्थिति, आन्दोलनपछिका पार्टीभित्रका असन्तुष्टि र आगामी रणनीतिमाथि छलफल हुने कांग्रेसले जनाएको छ ।