


काठमाडौं : नेपाल बार एशोसिएशनले नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री वालेन्द्र शाहले संसदमा दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। मंगलबार जारी विज्ञप्तिमा बारले उक्त भनाइलाई गैरजिम्मेवार, हलुका टिप्पणी तथा राष्ट्रिय स्वाभिमानमाथिको कुठाराघातको संज्ञा दिएको हो ।
महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाद्वारा हस्ताक्षरित विज्ञप्तिमा प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा विवादबारे नेपालको स्थापित अडान र अन्तर्राष्ट्रिय मञ्चमा गरिने कूटनीतिक दाबीलाई कमजोर बनाएको उल्लेख छ। बारले नेपालको एक इञ्च भूमि पनि कसैलाई छोड्न नसकिने भन्दै सीमा विवाद ऐतिहासिक तथ्य, नाप–नक्सा, प्रमाण र सन्धि–सम्झौताका आधारमा समाधान हुनुपर्ने जनाएको छ।
खेतीपाती वा नदीको धार परिवर्तनका कारण देखिने प्राविधिक ‘क्रस होल्डिङ’ लाई राज्यस्तरको भूमि अतिक्रमणसँग तुलना गर्न नमिल्ने उल्लेख गर्दै बारले प्रधानमन्त्रीको कूटनीतिक बुझाइमाथि पनि प्रश्न उठाएको छ। राष्ट्रिय हित र भौगोलिक अखण्डतासम्बन्धी विषयमा सरकार थप जिम्मेवार र स्पष्ट हुनुपर्नेमा बारले जोड दिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |