


काठमाडौँ : संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्त र दुई निर्वाचन आयुक्तमा सिफारिस भएका व्यक्तिविरुद्ध प्रमाणसहित उजुरी दिन १० दिनको समय दिएको छ। नियुक्ति उपयुक्त नभएको ठोस आधार वा सूचना भए समितिमा पेश गर्न आग्रह गरिएको हो।
समितिले शनिबार सार्वजनिक सूचना जारी गर्दै संवैधानिक परिषद्बाट प्रमुख निर्वाचन आयुक्तमा सिफारिस भएका मानबहादुर कार्की तथा निर्वाचन आयुक्तमा सिफारिस भएका डा। राजीव सुब्बा र गुरुप्रसाद वाग्लेविरुद्ध नेपाली वा अंग्रेजी भाषामा उजुरी दिन सकिने जनाएको छ।
समितिका अनुसार उजुरीमा उजुरीकर्ताको नाम, ठेगाना, सम्पर्क नम्बर र जिल्ला स्पष्ट खुलाउनुपर्नेछ। साथै, दाबी पुष्टि गर्ने आधार र प्रमाणका कागजातको प्रतिलिपिसमेत संलग्न गर्नुपर्नेछ।
उजुरी सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको सचिवालयमा वा जिल्ला प्रशासन कार्यालयमार्फत दस्तुरबिनै पठाउन सकिने व्यवस्था गरिएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा असार १९ गते बसेको संवैधानिक परिषद्को बैठकले तीनै जनालाई नियुक्तिका लागि सिफारिस गरेको थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |