


काठमाडौँ : मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा संघीय सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा भएको सहमतिअनुसार घटनाको सत्यतथ्य र निष्पक्ष छानबिनका लागि पूर्वन्यायाधीशको संयोजकत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिनेछ। समितिले सात दिनभित्र सरकारसमक्ष प्रतिवेदन बुझाउनेछ।
सहमतिअनुसार छानबिन प्रतिवेदन र सिफारिसका आधारमा गणेश नेपालीलाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाइनेछ। घटनाका दिन त्रिपुरेश्वर क्षेत्रमा खटिएका महानगर प्रहरी कर्मचारीलाई तत्काल निलम्बन गरी प्रतिवेदनका आधारमा थप कारबाही गरिने उल्लेख छ।
पीडित परिवारलाई राहतस्वरूप मृतककी श्रीमतीलाई योग्यता र क्षमताअनुसार महानगरपालिकामा रोजगारी उपलब्ध गराइने, छोरीको उच्च शिक्षासम्मको सम्पूर्ण खर्च व्यहोर्ने तथा आगामी कार्यपालिका बैठकबाट उचित राहत रकम उपलब्ध गराइने सहमति भएको छ।
साथै अन्तिम संस्कारको सम्पूर्ण व्यवस्था, आफन्तको यातायात र काठमाडौँ बसाइ खर्च, शव बुझ्ने तथा पोस्टमार्टमलगायतका कानुनी प्रक्रिया सहज बनाउने र परिवारका सदस्यको स्वास्थ्य बीमाको जिम्मेवारी सरकार तथा महानगरपालिकाले लिने सहमति भएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |