


काठमाडौँ : नेपाल पर्यटन बोर्डले आयोजना गरेको ‘नेपाल पर्यटन वेलनेस रिल प्रतियोगिता–२०२६’ मा कोशी प्रदेशबाट योग प्रशिक्षक तथा ट्रेकिङ गाइड मिना कुमारी राउत विजेता घोषित भएकी छन्। सातै प्रदेशबाट एक-एक जना उत्कृष्ट सिर्जनाकर्ता छनोट गरिएको प्रतियोगितामा प्रत्येक विजेताले ७५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।
त्रिभुवन विश्वविद्यालयमा योग विज्ञानमा स्नातकोत्तर अध्ययनरत राउत विगत एक दशकदेखि योग क्षेत्रमा सक्रिय छिन्। उनले योग प्रशिक्षकका रूपमा देशभित्र र बाहिरका साधकलाई प्रशिक्षण दिँदै आएकी छन्। योगसँगै ट्रेकिङलाई जोडेर विदेशी पर्यटकलाई हिमाली क्षेत्रमा ‘योग ट्रेकिङ’ गराउँदै नेपालको वेलनेस पर्यटन प्रवर्द्धनमा योगदान पुर्याइरहेकी छन्। नेपाल माउन्टेन एकेडेमीबाट ट्रेकिङ गाइडको तालिम लिएकी उनले अनलाइन र प्रत्यक्ष माध्यमबाट योग, ध्यान तथा साउन्ड हिलिङसम्बन्धी कक्षा सञ्चालन गर्दै आएकी छन्।
राउतले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय योग प्रतियोगितामा उल्लेखनीय सफलता हासिल गरेकी छन्। उनले सन् २०२३ मा सम्पन्न तेस्रो दक्षिण एसियाली योग खेलकुद प्रतियोगितामा स्वर्ण पदक जितेकी थिइन्। त्यसपछि २०२४ मा आयोजित पहिलो भारत–नेपाल योगासन खेलकुद च्याम्पियनसिप र राष्ट्रिय योग खेलकुद च्याम्पियनसिपमा पनि स्वर्ण पदक जित्दै ‘मिस योगी २०८०’ उपाधि प्राप्त गरेकी थिइन्। सन् २०२५ मा भएको १६औँ विश्व योगासन खेलकुदमा नेपालको प्रतिनिधित्व गरेकी उनले सातौँ राष्ट्रिय योगासन प्रतियोगिता-२०८२ मा पनि स्वर्ण जितेकी थिइन्।
राउतको विजेता भिडियोमा गरिमा काफ्लेले आवाज दिएकी छन् भने अर्जुन भुसाल र सुमन आचार्यले छायांकन गरेका छन्। सम्पादन मदन कार्की, अर्जुन भुसाल र मिडिया फोकस प्रालिको टोलीले गरेको थियो।
प्रतियोगितामा मधेशबाट सुमित्रा आचार्य, बागमतीबाट एरिक नकर्मी, गण्डकीबाट रोशन ढकाल, लुम्बिनीबाट भास्कर महर्जन, कर्णालीबाट सन्तोष बुढा र सुदूरपश्चिमबाट हिमालय भट्ट पनि विजेता बनेका छन्। जुरी अवार्ड आशा पौडेलले प्राप्त गरेकी छन्।
नेपाल पर्यटन बोर्डका अनुसार देशभरबाट १११ सिर्जनाकर्ताको सहभागिता रहेको प्रतियोगितामा हिमालय, योग, ध्यान, आयुर्वेद, साउन्ड हिलिङ तथा प्रकृतिमा आधारित उपचार प्रणालीलाई समेटेर वेलनेस पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका सामग्री प्रस्तुत गरिएका थिए। बोर्डले यस्ता सिर्जनात्मक अभियानले नेपालको मौलिक वेलनेस संस्कृति अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |