


काठमाडौँ : मिटरब्याजविरुद्ध आन्दोलनरत पक्ष र सरकारबीच माग सम्बोधनका विषयमा आज निर्णायक वार्ता हुँदै छ। सिंहदरबारमा बस्ने दोस्रो चरणको छलफलबाट सहमति जुटाउने प्रयास हुने दुवै पक्षले बताएका छन्।
बिहिबार सम्पन्न पहिलो चरणको औपचारिक वार्तापछि दुवै पक्षले संवाद सकारात्मक रहेको जनाएका थिए। आन्दोलनका केन्द्रीय हेडक्वार्टर सदस्य लक्ष्मी घिमिरेका अनुसार प्रारम्भिक बैठकमा मागबारे सामान्य छलफल भएकाले आजको बैठकमा विस्तृत रूपमा एजेन्डामाथि छलफल हुनेछ।
यसअघि बाराको निजगढमा पैदल मार्चमा रहेका आन्दोलनकारीसँग गृहमन्त्री सुदन गुरुङले प्रत्यक्ष वार्ता गरेका थिए। त्यहाँ सहमति हुन नसकेपछि दुवै पक्षलाई औपचारिक वार्ताका लागि सिंहदरबार बोलाइएको हो।
आन्दोलनकारीहरूले आफ्ना माग पूरा नभएसम्म आन्दोलनका कार्यक्रम जारी रहने अडान दोहोर्याएका छन्। आजको वार्ताबाट ठोस सहमति निस्किए आन्दोलनको आगामी स्वरूपसमेत तय हुने अपेक्षा गरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |