


काठमाडौँ : लामो समयदेखि थन्किएको स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको ‘ब्याकलग’ अन्त्य भएको छ। अब यातायात व्यवस्था विभागबाट विवरण प्राप्त भएको २४ घण्टाभित्रै नयाँ स्मार्ट लाइसेन्स छापेर विभागलाई उपलब्ध गराइने व्यवस्था मिलाइएको सूचना तथा सञ्चार मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच भएका दुई चरणका सम्झौताअनुसार कुल २७ लाख स्मार्ट लाइसेन्स छाप्ने काम सम्पन्न भएको हो। पहिलो चरणमा २०८२ कात्तिक १२ गतेको सम्झौताअनुसार १२ लाख र दोस्रो चरणमा २०८३ वैशाख ४ गते भएको सम्झौताअनुसार थप १५ लाख लाइसेन्स छापिएको थियो।
हाल ट्रायल परीक्षा उत्तीर्ण गरी राजस्व बुझाएका तथा नवीकरण गरेका सेवाग्राहीका दैनिक तीनदेखि पाँच हजार विवरणका आधारमा २४ घण्टाभित्रै स्मार्ट लाइसेन्स छापेर विभागलाई हस्तान्तरण भइरहेको मन्त्रालयले जनाएको छ। सुरक्षण मुद्रण केन्द्रले अब सातै प्रदेशसँग समन्वय गरी लाइसेन्स छपाइ विस्तार गर्ने तथा नागरिकता, राष्ट्रिय परिचयपत्र, अन्तःशुल्क स्टिकर, हुलाक टिकट र जग्गाधनी प्रमाणपत्रलगायत सुरक्षण मुद्रण सामग्री पनि स्वदेशमै उत्पादन गर्ने तयारी गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |