


काठमाडौं : सर्वोच्च अदालतले विदेशी नागरिकसँग विवाह गरेकै आधारमा नेपाली बाबु वा आमाबाट जन्मिएकी महिलालाई वंशजको नेपाली नागरिकताबाट वञ्चित गर्न नमिल्ने संवैधानिक व्याख्या गरेको छ। संवैधानिक इजलासले बाबु वा आमा नेपाली नागरिक रहेको पुष्टि भए त्यस्ती महिलाले विवाहको अवस्थाले असर नपर्ने गरी वंशजको नागरिकता पाउने स्पष्ट गरेको हो।
मकवानपुरकी सुकुमाया लामाले दायर गरेको रिटमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित पाँच सदस्यीय इजलासले यस्तो फैसला गरेको हो। पूर्णपाठमा विदेशी नागरिकसँग विवाह गर्नु र आफ्नै जन्मसिद्ध संवैधानिक अधिकारका रूपमा प्राप्त हुने वंशजको नागरिकता फरक विषय भएको उल्लेख गरिएको छ।
अदालतले नागरिकताविहीनताको अवस्था सिर्जना गर्न संविधानले नचाहेको भन्दै बाबु वा आमा नेपाली नागरिक रहेको प्रमाणित भए कानुनबमोजिम वंशजको नागरिकता उपलब्ध गराउन जिल्ला प्रशासन कार्यालय मकवानपुरलाई निर्देशन दिएको छ। उक्त फैसलापछि सुकुमाया लामाले २०८२ भदौमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी थिइन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |