


काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्समा सुरु हुने त्रिदेशीय सिरिजमा नेपालले आज नामिबियाविरुद्ध प्रतिस्पर्धा गर्दै अभियानको थालनी गर्दैछ। नेपाली समयअनुसार खेल पौने ३ बजे सुरु हुनेछ। शीर्ष चारमा रहेर विश्वकप ग्लोबल क्वालिफायरमा स्वतः स्थान बनाउन नेपालका लागि बाँकी खेलहरू अत्यन्तै निर्णायक छन्।
घरेलु मैदानमा गत जेठमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डविरुद्ध आठमध्ये ६ खेल जित्दै सातौँबाट पाँचौँ स्थानमा उक्लिएको नेपाल त्यसै लयलाई निरन्तरता दिने लक्ष्यमा छ। २८ खेलबाट २४ अंक जोडेको नेपाल तालिकाको पाँचौँ स्थानमा छ भने नेदरल्यान्ड्स ३२ अंकसहित तेस्रो र नामिबिया २२ अंकसहित सातौँ स्थानमा छन्।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको नेपाली टोलीमा उपकप्तान दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, गुल्शन झा, करण केसी र सोमपाल कामीलगायत अनुभवी खेलाडी छन्। नेपालले यस सिरिजमा नामिबियासँग दुई तथा आयोजक नेदरल्यान्ड्ससँग दुई खेल खेल्ने तालिका छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |