


काठमाडौँ : उच्च हिमाली भूगोलमा बढ्दो तापक्रम र हिमपातको अनियमित चक्रले हिमाली समुदायको परम्परागत कृषि र आयस्रोतका खम्बाहरू डगमगाउन थालेका छन्। सुदूरपश्चिमको अपि हिमाल क्षेत्रमा बहुमूल्य यार्चागुम्बा सुक्दै गएको छ भने मुस्ताङमा प्रसिद्ध स्याउका बगैँचाहरू विस्थापित हुने जोखिम बढेको छ ।
जलवायु अनुसन्धानकर्ता डा. उपेन्द्र बमका अनुसार विगत ३० देखि ४० वर्षको अवधिमा हिमाली पर्यावरणमा अभूतपूर्व हेरफेर आएको छ। समयमा हिउँ नपर्दा अपि हिमालमा यार्चागुम्बाको उत्पादकत्व ह्वात्तै घटेको छ, जसले स्थानीयको अतिरिक्त आम्दानी खोसेको छ। उता मुस्ताङको तल्लो भागमा गर्मी बढ्दा स्याउ खेती पाक्न आवश्यक चिसो नपुगेपछि उचाइतर्फ सर्ने ुमल्टी(अल्टिट्युडनल शिफ्टु देखिएको छ।
‘चिसो ठाउँमा तापक्रम बढ्दा बालीनालीमा किराको आक्रमण र मानिस तथा जनावरमा नयाँ रोगहरू देखिन थालेका छन्’,डा. बम भन्छन, ‘यसले गर्दा परम्परागत खेतीपातीको क्यालेन्डर नै खलबलिएको छ’।
यस सङ्कटका बीच एउटा सकारात्मक रूपान्तरण पनि देखिएको छ। ३०-४० वर्षअघि ८- १० प्रकारका स्थानीय बाली मात्र फल्ने मुस्ताङको तल्लो भेगमा अहिले तराईमा फल्ने ३० देखि ३४ प्रजातिका तरकारी उत्पादन हुन थालेका छन्, जसले स्थानीयको पोषण सुरक्षामा भने नयाँ सम्भावना जगाएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |