

काठमाडौँ : सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनको रणनीति र उम्मेदवार चयनको विधि तय गर्न केन्द्रीय समिति बैठक बोलाएको छ । सभापति रवि लामिछानेको निर्देशनमा महामन्त्री विपीन कुमार आचार्यले शुक्रबार बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा बैठक डाकेका हुन् ।
बैठकको मुख्य प्राथमिकता ‘उम्मेदवार छनोट रूपरेखा २०८३’ लाई अनुमोदन गर्नु रहेको छ। स्थानीय निर्वाचनमा उम्मेदवार तय गर्दा अपनाइने विधि र प्रक्रियालाई अन्तिम रूप दिँदै पार्टीले उम्मेदवार छनोट समितिको गठन तथा सदस्य मनोनयन गर्ने तयारी गरेको छ।
स्थापनाकालदेखि नै वकालत गर्दै आएको ‘राइट टु रिकल’ (जनप्रतिनिधि फिर्ता बोलाउने अधिकार) सम्बन्धी दस्तावेज निर्माण र त्यसको कानुनी खाका तयार पार्नु बैठकको अर्को प्रमुख कार्यसूची हो।
यस्तै, केन्द्रीय समिति, पदाधिकारी, सचिवालय र विभागीय प्रमुखका रिक्त पद पूर्ति, कार्यकर्ताका लागि देशव्यापी प्रशिक्षण सञ्चालन तथा ‘स्वतन्त्र’ नामक मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने विषयमा पनि छलफल हुनेछ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |