काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नेपाली कांग्रेसले भौतिक पूँजीभन्दा निष्ठा र योगदानलाई प्राथमिकता दिएको भए आफू पनि कांग्रेस नै हुने बताएका छन्। काठमाडौंको खुलामञ्चमा आयोजित कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लामिछानेले पार्टीको अवसर वितरण र टिकट प्रणालीप्रति टिप्पणी गर्दै कांग्रेसका आन्तरिक विषय केलाएका हुन्।
अधिकार र अवसर वितरणमा कांग्रेस चुकेको दाबी गर्दै लामिछानेले भने, “दूरदराजका पछाडि पारिएका वर्गलाई समानुपातिक भनिरहँदा अगाडि रहेकाहरूलाई नै प्राथमिकता नदिएको भए, ४० वर्षमै सभापति बन्ने प्रेरणा लिएको भए र आफ्नै चुनाव चिह्न रुखलाई छाडेर अन्यत्र भोट हाल्न उर्दी जारी नगरेको भए सायद म पनि कांग्रेस नै हुन्थेँ होला।”
राजनीतिक मतभिन्नता भए पनि मुलुक, संविधान, जनजीविका र लोकतान्त्रिक गणतन्त्रको सवालमा सबै दल र झण्डा एउटै हुनुपर्नेमा उनले जोड दिए। राष्ट्रिय मुद्दामा एकजुट भएर अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै लामिछानेले मधेसको छोरोलाई प्रधानमन्त्री बनाएर आफूहरू आएको र देशको समृद्धिका लागि सहकार्य जारी रहने स्पष्ट पारे।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |