काठमाडौं : संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दैछ। बैठकमा ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२’ प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उक्त विधेयक सदनमा पेस गर्ने छन्। विधेयकमार्फत डिजिटल क्षेत्रमा बढ्दो साइबर जोखिम नियन्त्रण गर्न कानुनी संरचना बनाउने सरकारको तयारी छ।
त्यस्तै, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२’ प्रस्तुत गर्ने छन्। उक्त विधेयकले औद्योगिक सम्पत्तिको दर्ता, संरक्षण र दुरुपयोग नियन्त्रणको प्रावधान ल्याउने अपेक्षा गरिएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथि राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि बैठकको सम्भावित कार्यसूचीमा समावेश गरिएको छ।