ललितपुर : नेकपा (एमाले) को दोस्रो विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीमा सुरु हुँदै छ। तीन दिनसम्म चल्ने महाधिवेशनका एजेन्डा र प्रतिवेदनबारे छलफल हुने तयारी सचिवालय बैठकले बिहीबार अन्तिम रूप दिएको छ।
बैठकले पूर्वराष्ट्रपति एवं पूर्व उपाध्यक्ष विद्यादेवी भण्डारीको सदस्यता विवादलाई महाधिवेशनको कार्यसूचीबाट हटाउँदै उनलाई महाधिवेशन हल प्रवेशमा समेत निषेध गरेको छ। यससँगै पार्टीभित्रको आन्तरिक राजनीति झन् पेचिलो बनेको छ।
पत्रकार सम्मेलनमा उपमहासचिव प्रदीप ज्ञवालीले भण्डारीको योगदानलाई विवादमा नतान्न आग्रह गर्दै सदस्यता नवीकरण नभएकाले विषय महाधिवेशनसँग सम्बन्धित नरहेको बताए।
महाधिवेशनमा अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलले विधान संशोधन र महासचिव शंकर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेश गर्ने कार्यक्रम छ। करिब तीन हजार क्षमताको हलमा प्रवेशका लागि चारवटा ढोका तोकिएका छन्।