


काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) तथा अवैधानिक वित्तीय कारोबारमा संलग्न दुई लाख २३ हजार ५६८ वटा वेबसाइट र एप बन्द गरेको जनाएको छ। यस वर्षको फिफा विश्वकप सुरु भएयता त्यस्ता वेबसाइट र एपको संख्या बढेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी)सँगको सहकार्यमा पहुँच अवरुद्ध गरेको हो।
सरकारले गत चैत १३ मा जारी गरेको शासकीय सुधारसम्बन्धी १०० कार्यसूचीअन्तर्गत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई सट्टेबाजीसम्बन्धी वेबसाइट र एप २४ घण्टाभित्र बन्द गर्ने जिम्मेवारी दिएको थियो। त्यसयता बन्द गरिएका वेबसाइट नयाँ नाममा पुनः सञ्चालन हुन थालेपछि प्राधिकरणले निगरानी थप कडा बनाएको जनाएको छ।
प्राधिकरणका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप अवधिभर आईएसपीका प्रतिनिधिलाई प्राधिकरणमै राखेर शंकास्पद युआरएल ‘ब्लक’ गरिएको थियो। नयाँ वेबसाइट निरन्तर खुलिरहने चुनौतीका कारण ‘थ्रेट इन्टेलिजेन्स टुल’ प्रयोग गरी त्यस्ता साइट पहिचान र बन्द गर्ने काम भइरहेको उनले बताए। अवैधानिक वेबसाइटबारे जानकारी भए प्राधिकरणले त्यसको विवरण सम्बन्धित सूचना प्रणालीमार्फत उपलब्ध गराउन पनि आग्रह गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |