काठमाडौं : भारतले लिपुलेक पासमाथि नेपालको दाबीलाई अस्वीकार गर्दै त्यसलाई औचित्यहीन ठहर गरेको छ।
भारत सरकारको परराष्ट्र मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले नेपालले प्रस्तुत गरेको दाबी ऐतिहासिक तथ्य र प्रमाणमा आधारित नभएको भन्दै खारेज गरेका हुन्।
उनका अनुसार भारत र चीनबीच सन् १९५४ देखि नै लिपुलेकमार्ग हुँदै व्यापार हुँदै आएको छ। कोभिड-१९ महामारीका कारण केही वर्ष अवरुद्ध भएको व्यापार अहिले पुनः सुरु गर्ने सहमति मात्र भएको उनको भनाइ छ।
‘नेपालको दाबी एकतर्फी छ। यस्ता दाबीहरू कुनै तथ्य र प्रमाणमा आधारित छैनन्,’ प्रवक्ता जैसवालले भने, ‘यसलाई भारतले स्वीकार गर्न सक्दैन।’
तर बाँकी सीमासम्बन्धी विवाद समाधानका लागि भने भारत नेपालसँग संवाद र कूटनीतिक माध्यममार्फत कुरा गर्न तयार रहेको उनले स्पष्ट पारे।