काठमाडौं : नेपाल वैदेशिक रोजगार व्यवसायी संघले मलेसिया रोजगारीमा सिन्डिकेट गर्ने प्रयासबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार संघका अध्यक्ष भुवन सिंह गुरुङले जारी विज्ञप्तिमा वैदेशिक रोजगारी क्षेत्रलाई प्रतिस्पर्धात्मक, पारदर्शी र श्रमिकमैत्री बनाउन आवश्यक कदम चाल्न सरकारलाई आग्रह गरिएको छ। विज्ञप्तिमा भनिएको छ, ‘मलेसिया रोजगारीमा सीमित पक्षलाई मात्र अधिकार दिने, प्रतिस्पर्धा हटाउने वा नियन्त्रित प्रणाली लागू गर्ने कुनै पनि कदम श्रमिकको हितविपरीत हुनेछ।’
संघले यस्ता प्रयासले श्रमिकलाई महँगो शुल्क तिर्न बाध्य बनाउने, सेवा ढिलो हुने र भ्रष्टाचारको जोखिम बढाउने चेतावनी दिएको छ। संघले श्रम मन्त्रालय र सम्बन्धित निकायलाई अन्तर्राष्ट्रिय श्रम बजारमा नेपालका श्रमिकको पहुँच र अवसर विस्तार हुने खालका नीति बनाउन सुझाव दिएको छ। साथै, श्रमिक हितविपरीतको सिन्डिकेट प्रवृत्ति तत्काल रोक्न माग गरेको छ।