

काठमाडौँ : हिमाली क्षेत्रमा निम्तिएको जलवायुजन्य विपत्तिबारे विश्व समुदायको ध्यानाकर्षण गराउन प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुने भएका छन्। न्युयोर्कमा आयोजना हुने महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशी बाढी र त्यसले पारेको वातावरणीय प्रभावबारे नेपालको धारणा राख्ने बताइएको छ ।
यसअघि भदौ ३ को मन्त्रिपरिषद् बैठकले परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा प्रतिनिधिमण्डल पठाउने निर्णय गरे पनि विकसित घटनाक्रमपछि प्रधानमन्त्री स्वयं जाने निश्चित भएको हो। अर्थमन्त्री स्वर्णिम वाग्लेसहित मन्त्री र विज्ञहरूको बैठकले जलवायु न्यायको मुद्दालाई शीर्ष नेतृत्वबाटै उठाउनुपर्ने सुझाव दिएपछि भ्रमणको तयारी थालिएको हो।
वैज्ञानिकहरूका अनुसार रसुवामा गएको विपत्तिको मुख्य कारण जलवायु परिवर्तन नै हो। सेप्टेम्बर तेस्रो साता न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहले राष्ट्रसङ्घको ‘हानि तथा क्षति कोष’ (लस एन्ड ड्यामेज फन्ड) बाट सहयोगका लागि नेपालको दाबी बलियोसँग प्रस्तुत गर्नेछन्।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |