

काठमाडौँ : ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्मजयन्तीका अवसरमा आज देशभर ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व श्रद्धा भक्तिपूर्वक मनाइँदै छ। द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा श्रीकृष्णको जन्म भएको विश्वासका आधारमा आजको रातलाई मोहरात्रिु का रूपमा विशेष पूजाआराधना गरी मनाउने गरिएको छ ।
अन्याय र राक्षसी प्रवृत्तिबाट मानव जातिको रक्षा गर्न विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्य र सत्कर्मको सन्देश दिएका थिए। कुरुक्षेत्रमा अर्जुनलाई उनले दिएको उपदेश समेटिएको ‘श्रीमद्भागवतगीता’ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको पवित्र ग्रन्थ का रुपमा चिनिन्छ ।
यस अवसरमा ललितपुरको पाटनस्थित प्रसिद्ध कृष्णमन्दिर, काठमाडौँको नवतनधामलगायत देशभरका मन्दिरहरूमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। भक्तजनहरू दिनभर व्रत बसी भजनकीर्तन र रातभर जाग्राम बस्ने गर्छन्। विभिन्न धार्मिक सङ्घ(संस्थाले झाँकीसहित शोभायात्राको आयोजना गरेका छन्। पर्वको उपलक्ष्यमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |