


काठमाडौँ : सुनसरी, सिरहालगायत विभिन्न जिल्लामा भएका पछिल्ला हिंसात्मक घटनाले राष्ट्रिय चिन्ता बढिरहेका बेला राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन्द्र शाहलाई शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्न सबै राजनीतिक दल तथा सरोकारवाला पक्षलाई विश्वासमा लिएर अघि बढ्न सुझाव दिएका छन्।
प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक बिहीबार शीतलनिवास पुगेका शाहले राष्ट्रपतिलाई पछिल्ला घटनापछि विकसित सुरक्षा अवस्था र सरकारले चालेका कदमबारे जानकारी गराएका थिए। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा राष्ट्रपति पौडेलले देशका विभिन्न भागमा बढ्दो हिंसात्मक घटनाप्रति गम्भीर चासो व्यक्त गरेका थिए।
जवाफमा प्रधानमन्त्री शाहले शान्ति–सुरक्षा सुदृढ बनाउन सरकारले आवश्यक पहल गरिरहेको र प्रभावित क्षेत्रमा उच्चस्तरीय अनुगमन तथा समन्वय जारी रहेको जानकारी गराएका थिए। बिहीबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै उनले नागरिकको जिउधनको सुरक्षा र कानुनी शासन कायम गर्न सरकार प्रतिबद्ध रहेको बताएका थिए। राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्ता करिब १५ मिनेट चलेको थियो।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |