


काठमाडौँ : सरकारको कार्यशैलीमाथि सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रै असन्तुष्टि चुलिँदै गएपछि प्रतिनिधिसभाको बैठक दुई साताका लागि स्थगित गरिएको छ। बुधबार बसेको बैठकपछि सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक साउन १४ गतेका लागि बोलाएका हुन्।
सरकारले सय दिन पूरा गरेको सन्दर्भमा विपक्षी दलसँगै रास्वपाकै सांसदहरूले पनि सुकुम्बासी व्यवस्थापन, सीमा विवाद र आत्मदाह प्रकरणमा सरकारको भूमिकामाथि प्रश्न उठाउन थालेका छन्। अमरेशकुमार सिंह, मनिष झा, क्रान्तिशिखा धिताल, प्रकाशचन्द्र परियार, करिष्मा कठरिया र सुलभ खरेललगायत सांसदहरूले सार्वजनिक रूपमा सरकारको कार्यसम्पादनप्रति असन्तुष्टि जनाएका छन्।
संसद् बैठक स्थगनबारे बुधबार बसेको कार्यव्यवस्था परामर्श समितिमा पनि छलफल भएको थियो। सांसदहरूले जिल्ला जानुपर्ने, बैठक सञ्चालनका लागि पर्याप्त विधेयक तथा अन्य कार्यसूची नरहेको तर्क गर्दै केही समयका लागि बैठक रोक्ने प्रस्ताव गरेका थिए। तर सरकारको कामकारबाहीमाथि आफ्नै दलभित्रबाट बढ्दो आलोचनाका बीच संसद् दुई साताका लागि स्थगित गरिनुलाई राजनीतिक रूपमा अर्थपूर्ण घटनाका रूपमा हेरिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |