काठमाडौं : रूपन्देही–३ मा आगामी कार्तिक १७ का लागि तोकिएको उपनिर्वाचन स्थगित भएको छ।
जेनजी आन्दोलनपछि यसअघिको सरकार फेरिएको छ भने संघीय संसद पनि विघटन भइसकेको छ । यस्तो अवस्थामा तोकिएको उपनिर्वाचन स्थगित भएको हो । २०७९ सालमा रूपन्देही–३ बाट निर्वाचित राप्रपाका सांसद दीपक बोहोराको निधनपछि सो क्षेत्र रिक्त भएको थियो। त्यसपछि आयोगले उपनिर्वाचनको मिति तोकेर तयारी अघि बढाएको थियो। दलहरूले पनि उम्मेदवार टुंग्याउनेदेखि गठबन्धन बनाउनसम्मका प्रक्रिया सुरु गरेका थिए। तर, संघीय संसद विघटन भइसकेको र संविधानले बाँकी कार्यकाल छोटो हुँदा उपनिर्वाचन आवश्यक नरहेको ठहर गरेपछि सम्पूर्ण तयारी अर्थहीन बनेको हो।
निर्वाचन आयोगले यसअघि मतदाता नामावली संकलन, अद्यावधिक, कर्मचारी परिचालनलगायत प्राविधिक तयारी अघि बढाएको थियो। उपनिर्वाचनको माहोलले जिल्लामा राजनीतिक चहलपहल बढेको थियो। तर, आयोगका अधिकारीहरूका अनुसार संविधानको धारा ८४(६) नै बाधक बनेपछि निर्वाचन नगर्ने निर्णय लिनुपरेको हो। अब प्रतिनिधिसभा नयाँ निर्वाचनको घोषणासहितको प्रक्रियातर्फ अघि बढ्ने भएकाले रूपन्देही–३ को रिक्तता आगामी साधारण निर्वाचनसम्म कायम रहने आयोगले जनाएको छ।