काठमाडौं : लिपुलेक नेपालको अंग हो भन्ने अडान दोहोर्याउँदै सरकारले भारत र चीन दुवैको ध्यानाकर्षण गराएको छ।
संविधानमा समावेश आधिकारिक नक्सामा लिपुलेक, लिम्पियाधुरा र कालापानी प्रस्टै नेपालको भूभागका रूपमा उल्लेख भएको तथ्यलाई सरकार पुनः पुष्टि गरेको हो।
परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल र मिडियामा आएका प्रश्नको जवाफ दिंदै सो क्षेत्रबारे दुवै छिमेकी मुलुकलाई औपचारिक जानकारी दिइसकिएको जनाएको छ। ‘ऐतिहासिक सन्धि–सम्झौता, तथ्य र नक्साका आधारमा नेपाल–भारतबीचको सीमा समस्या कूटनीतिक बाटोमै समाधान गर्न सरकार प्रतिबद्ध छ,’ मन्त्रालयले स्पष्ट पारेको छ।
नेपालले भारतसँगको सम्बन्ध घनिष्ठ र मैत्रीपूर्ण भएको स्मरण गर्दै त्यसकै मर्मअनुसार सीमा विवाद समाधानमा अघि बढ्न तयार रहेको पनि मन्त्रालयले जनाएको छ।