काठमाडौं : भारतमा दुई दिनदेखि परेको अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण कम्तीमा ३० जनाको ज्यान गएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार बाढी र पहिरोले असम राज्यका १५ जिल्लाका झन्डै एक लाख मानिस प्रभावित भएका छन्। असमको ब्रह्मपुत्रसहित १० वटा प्रमुख नदीको जलस्तर बढेको त्यहाँको केन्द्रीय जल आयोगले जनाएको छ।
मुख्यमन्त्री हिमन्त विश्व शर्माले नदी किनार र तल्लो तटीय क्षेत्रमा बसोबास गर्नेहरूलाई सतर्कता अपनाउन आग्रह गरेका छन्।
अविरल वर्षाका कारण असमका १२ जिल्लाका १७५ गाउँ डुबानमा परेका छन् भने सडक यातायात र रेल सेवा समेत अवरुद्ध भएको छ।
यस्तै, लगातारको वर्षाले सिक्किम राज्यमा पनि जनजीवन प्रभावित बनेको छ। विशेषगरी उत्तर सिक्किमको लाचेन र लाचुङ क्षेत्रमा सडक अवरुद्ध हुँदा १,५०० भन्दा बढी पर्यटक फसेका छन्।
राजमार्ग बाढी र पहिरोले क्षतिग्रस्त बनेका कारण उद्धार कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। लगातार वर्षाले टिस्टा नदीको जलस्तरसमेत उच्च बनेको जनाइएको छ।