काठमाडौं : सर्वोच्च अदालतका लागि सिफारिस गरिएका तीन प्रस्तावित न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा सातवटा उजुरी दर्ता भएका छन्।
समितिको बिहीबार बसेको बैठकमा पाँच व्यक्तिगत उजुरी र दुई सैद्धान्तिक उजुरी परेको सुनुवाइ समितिका सभापति ईश्वरीदेवी न्यौपानेले जानकारी दिइन्। सिफारिसमा परेका वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापामाथि उजुरी परेका हुन्।
सभापति न्यौपानेका अनुसार मेघराज पोखरेल र श्रीकान्त पौडेलविरुद्ध दुई–दुईवटा र शान्तिसिंह थापाविरुद्ध एउटा उजुरी परेको छ। त्यस्तै, दुईवटा उजुरी प्रस्तावित न्यायाधीशहरूको सिफारिस प्रक्रिया र न्यायिक योग्यता सम्बन्धी सैद्धान्तिक विषयमा केन्द्रित छन्।
सुनुवाइ समितिले उजुरीकर्तालाई शुक्रवार छलफलका लागि बोलाउने र आगामी असार १५ गते औपचारिक सुनुवाइ गर्ने निर्णय गरेको छ। समितिको बैठकमा उजुरीकर्ताहरूलाई आज नै आमन्त्रण गरिएको थियो।
समितिले उजुरीमा उठाइएका विषयहरूलाई गम्भीरतापूर्वक लिई निष्पक्ष ढंगले सुनुवाइ प्रक्रिया अघि बढाइने जनाएको छ।