काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरूको (एलएलडिसी) तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन आइतबार राति तुर्कमेनिस्तान जाँदै छन्।
उनको टोली फ्लाई दुबईमार्फत दुबई हुँदै सिधै अवाजा सहर पुग्नेछ। सम्मेलन साउन २० देखि २३ गते (अगस्ट ५–८ )सम्म हुनेछ। तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणमा प्रधानमन्त्री सहभागी हुन लागेका हुन्।
नेपाल हाल एलएलडिसीहरूको अध्यक्ष हो। सम्मेलनमा प्रधानमन्त्री ओलीले समन्वय ब्यूरोको अध्यक्षका हैसियतले सम्बोधन गर्ने र उच्चस्तरीय बैठकको सहअध्यक्षता गर्ने छन्।
उनको टोलीमा पत्नी राधिका शाक्य, प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, सांसद सूर्य थापा क्षेत्री, सचिव अमृत राई लगायत छन्। सम्मेलनमा समुद्र पहुँच नभएका मुलुकहरूको व्यापार, पारवहन र पूर्वाधार चुनौतीका विषयमा छलफल हुनेछ। प्रधानमन्त्री साउन २३ गते फर्कने कार्यक्रम छ।