

काठमाडौँ : बंगलादेशमा हिन्दु अल्पसंख्यकमाथि निरन्तर हिंसा र धार्मिक दमन भइरहेको आरोप लगाउँदै विश्व हिन्दु परिषद् नेपालले काठमाडौँस्थित बंगलादेश दूतावासमा ज्ञापनपत्र बुझाएको छ।
परिषद्का अनुसार बंगलादेशका हिन्दु नागरिक दिपु चन्द्र दासको निर्मम हत्या गरिएको घटनाले गम्भीर मानवअधिकार उल्लङ्घन भएको देखाएको छ। परिषद्ले सार्वजनिक रूपमा उपलब्ध जानकारीको हवाला दिँदै दासलाई ‘सबै धर्म समान हुन्’ भन्ने अभिव्यक्ति दिएको आरोपमा रुखमा झुन्ड्याएर जलाइँदै हत्या गरिएको दाबी गरेको छ।
विश्व हिन्दु परिषद् नेपालका राष्ट्रिय सचिव राजेन्द्र प्रसाद चौधरीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उक्त घटनालाई धार्मिक स्वतन्त्रतामाथिको आक्रमण, हिन्दु अल्पसंख्यकविरुद्ध लक्षित हिंसा र धार्मिक अतिवादको चरम उदाहरणका रूपमा उल्लेख गरिएको छ। साथै यसलाई अन्तर्राष्ट्रिय मानवअधिकार महासन्धि र सभ्य समाजका आधारभूत मूल्यविरुद्धको गम्भीर अपराध भनिएको छ।
ज्ञापनपत्रमा यस्ता घटनाले बंगलादेश मात्र नभई नेपालसहित दक्षिण एसियाली क्षेत्रमा डर, अस्थिरता र सामाजिक असहजता सिर्जना गर्ने चेतावनी दिइएको छ। धार्मिक अल्पसंख्यकमाथि हुने निरन्तर हिंसाले कट्टरपन्थी गतिविधि, जबर्जस्ती बसाइँसराइ र क्षेत्रीय सद्भावमा खतरा बढाउने उल्लेख गरिएको छ।
परिषद्ले बंगलादेश सरकारसँग दिपु चन्द्र दासको हत्या प्रकरणमा निष्पक्ष र पारदर्शी छानबिन गर्न, दोषीलाई कडा कारबाही गर्न तथा हिन्दु अल्पसंख्यकको जीवन, सम्पत्ति र धार्मिक स्वतन्त्रताको सुनिश्चितता गर्न माग गरेको छ। साथै मन्दिर तथा धार्मिक सम्पदाको संरक्षण, पीडित परिवारलाई न्याय र क्षतिपूर्ति उपलब्ध गराउन पनि आग्रह गरिएको छ।
ज्ञापनपत्रमार्फत परिषद्ले बंगलादेश दूतावासलाई उक्त विषय सम्बन्धित निकायसम्म पुर्याई शीघ्र आधिकारिक प्रतिक्रिया दिन अनुरोध गरेको छ। परिषद्ले दिवंगत दिपु चन्द्र दासप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनका परिवारप्रति ऐक्यबद्धता जनाएको छ।
