

काठमाडौँ : ग्रेगोरियन पात्रोअनुसार बिहिबारदेखि इस्वी संवत् २०२६ सुरु भएको छ । विश्वव्यापी रूपमा प्रयोग हुँदै आएको यो पात्रोका आधारमा नयाँ वर्ष मनाउने चलन नेपालमा पनि क्रमशः बढ्दै गएको छ । नयाँ वर्षको अवसरमा काठमाडौँका ठमेल, बौद्ध तथा पोखरा, सौराहा लगायत पर्यटकीय क्षेत्रमा विशेष कार्यक्रम आयोजना गरिएका छन् ।
येशु ख्रिस्टको जन्मवर्षलाई आधार मानेर पादरी ग्रेगोरियनले व्यवस्थित गरेकाले यसलाई ग्रेगोरियन पात्रो भनिन्छ । सौरमासमा आधारित यो पात्रो व्यवहारिक भए पनि वैज्ञानिकतामाथि भने प्रश्न उठ्ने गरेका छन् । संवत् अध्ययनकर्ता डा. शास्त्रदत्त पन्तका अनुसार सौर र चन्द्रमासको समन्वयबाट विकसित विक्रम संवत् तुलनात्मक रूपमा वैज्ञानिक मानिन्छ ।
एक वर्ष ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्डको हुने भए पनि सानो एकाइलाई व्यवस्थापन गर्न ग्रेगोरियन पात्रोमा ‘लिप इयर’को व्यवस्था गरिएको छ । यद्यपि यसबारे पश्चिमा देशमै एकरूपता नरहेको पन्त बताउँछन् । प्रभाव विस्तारसँगै इस्वी नयाँ वर्ष नेपाली समाजमा उत्सवको रूपमा स्थापित हुँदै गएको देखिन्छ ।
