

काठमाडौं : जेन–जी आन्दोलनका मागप्रति सरकार उदासीन बन्दै गए चुनावी नारा मात्र दोहोर्याउनु घातक हुने चेतावनी जेन–जी युवाहरूले दिएका छन्। भदौ २३ र २४ गते उठाइएका मागहरू अझै बेवास्तामा परेको भन्दै उनीहरूले सरकारले आफ्ना भावना कुल्चिन खोजे सह्य नहुने बताएका छन्।
शुक्रबार राजधानीको संवाद डबलीमा आयोजित पत्रकार सम्मेलनमा जेन–जी अभियन्ताहरूले देशको वर्तमान राजनीतिक अवस्थाले युवालाई निराश बनाएको उल्लेख गरे। जेन–जी अभियन्ता वीरेन्द्र शाहीले युवाहरू दिनदिनै विदेशिनु र अर्थतन्त्र कमजोर बन्दै जानुको मुख्य जिम्मेवारी पुराना राजनीतिक दलहरूमाथि रहेको आरोप लगाए। उनका अनुसार युवाले स्वदेशमै भविष्य देख्न नसक्ने अवस्था बनेको छ।
“किन हाम्रो श्रम विदेश जान बाध्य छ, किन हाम्रो मस्तिष्क देशमै अडिन सक्दैन रु यसबारे गम्भीर जवाफ कसले दिने रु” शाहीले प्रश्न गरे। उनले पुराना दलको विकल्पका रूपमा नयाँ राजनीतिक शक्तिको आवश्यकता रहेको बताए।
कार्यक्रममा बोल्दै इन्द्र शाहले जेन–जी आन्दोलनमाथि दमन गर्ने पूर्व सरकार प्रमुखहरू अहिले खुलेआम हिँडिरहेकोप्रति आपत्ति जनाए। “केपी ओली र रमेश लेखकहरू किन सानका साथ बोलिरहेका छन् रु के हाम्रा साथीहरूको बलिदान यही दिनका लागि थियो रु” उनले प्रश्न गरे।
प्रकाश संज्यालले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले जेन–जीको मर्म र भावना बेवास्ता गर्दै विदेशी योजनाको प्रभावमा अघि बढेको आरोप लगाए। उनले आफूलाई ‘नयाँ’ भन्ने शक्तिहरूले समेत जेन–जी आन्दोलनका त्याग, तपस्या र बलिदानको अवमूल्यन गरेको बताए। सामाजिक सञ्जालमा भाइरल भएकै आधारमा तथा आफन्तलाई समानुपातिक सूचीमा राख्ने प्रवृत्तिप्रति उनले आपत्ति जनाए।
कार्यक्रममा निराजन संज्याल र अनिष श्रेष्ठले आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदका परिवार तथा घाइतेहरूको माग तत्काल सम्बोधन गर्न सरकारसँग आग्रह गरे।
