

काठमाडौं : देशको नेतृत्व नयाँ पुस्ताले सम्हाल्दा मुलुक संकटमा पर्छ भन्ने आशंकालाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अस्वीकार गरेका छन्। पुराना राजनीतिक दलहरूलाई चिन्ता नगर्न आग्रह गर्दै उनले नयाँ पुस्ता देशलाई सही दिशामा लैजान सक्षम र सबल रहेको दाबी गरे।
सोमबार काठमाडौँमा आयोजित बृहत् राजनीतिक समायोजन घोषणा सभालाई सम्बोधन गर्दै लामिछानेले पुराना दलका नेताहरूले नयाँ पुस्तामाथि अविश्वास गर्ने प्रवृत्ति देखाएको उल्लेख गरे। बिग्रिएको अर्थतन्त्र, कमजोर बनेको वैदेशिक सम्बन्ध र खस्किएको राष्ट्रिय मनोबल उकास्न नयाँ पुस्ता मिलेर अघि बढिरहेको उनले बताए।
उनले संसद्लाई बजेट भाषणमा मात्र सीमित राख्ने अभ्यास अन्त्य गरी जनचासोको केन्द्र बनाउने पार्टी रास्वपा भएको जिकिर गरे। पुराना राजनीतिक दलहरूले लामो समय शासन गर्दा देश निराशातर्फ धकेलिएको आरोप पनि उनले लगाए।
‘नयाँ पुस्ताको हातमा देश गयो भने संकट पर्छ कि भन्ने चिन्ता गरिँदै आएको छ,’ उनले भने, ‘म स्पष्ट भन्न चाहन्छु—चिन्ता गर्नुपर्ने अवस्था छैन। नयाँ पुस्ता यो देशलाई एउटा उचाइमा लैजान सक्षम छ।’
वर्तमान राजनीतिक संकट समाधानको एकमात्र विकल्प निर्वाचन भएको उल्लेख गर्दै लामिछानेले निर्वाचनको वातावरण खल्बल्याउने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरे।
