

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको प्रस्तावित एकता प्रक्रिया असफल भएपछि उज्यालो नेपाल पार्टीको नेतृत्व संरक्षक कुलमान घिसिङले आफैँ सम्हाल्ने भएका छन्। राजनीतिक एजेन्डा र संगठनात्मक संरचनामा सहमति नजुटेपछि दुबै पक्ष अलग हुने निष्कर्षमा पुगेका हुन्।
उज्यालो नेपाल पार्टीले एकता टुटेको विषयमा औपचारिक जानकारी दिन आज साँझ ६ बजे पत्रकार सम्मेलन आयोजना गरेको छ। पार्टीका नेताहरूका अनुसार रास्वपासँग भएका छलफलमा उज्यालोको तर्फबाट अघि सारिएका केही मागहरू कार्यान्वयन गर्न नसकिने भन्दै रास्वपाले एकता टुटेको घोषणा गरेको हो।
एकता वार्ताका क्रममा संरक्षकको भूमिकामा रहेका घिसिङले अब पार्टीको औपचारिक नेतृत्व सम्हाल्ने तयारी गरेका छन्। पार्टी स्रोतका अनुसार एकता विफल भएपछि संगठनलाई पुनः सशक्त बनाउन नेतृत्व प्रत्यक्ष रूपमा लिनुपर्ने निष्कर्षमा घिसिङ पुगेका हुन्।
