

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँगको एकता प्रक्रिया असफल भएपछि उज्यालो नेपाल पार्टीले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ। बैठक शनिबार अपराह्न ४ बजे बस्ने गरी तय गरिएको हो ।
रास्वपासँगको एकता टुटेसँगै विकसित राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको उज्यालो नेपालका नेताहरूले बताएका छन्। एकता प्रक्रियाका क्रममा कुलमान घिसिङ उपसभापति हुने सहमति भए पनि पदाधिकारी र केन्द्रीय सदस्यको संख्या तथा जिम्मेवारीमा दुबै पक्षबीच सहमति जुट्न सकेको थिएन।
उज्यालो नेपालका अनुसार समानुपातिक उम्मेदवारको विषयमा पूर्वसहमति अनुसार कार्यान्वयन नभएपछि एकता प्रक्रिया अन्ततः भाँडिएको हो। पार्टीले रास्वपाले सहमतिबाट पछि हटेको आरोप लगाएको छ।
तर रास्वपा पक्षले भने पछिल्लो चरणमा शक्ति बाँडफाँडबारे संवाद भइरहँदा कुलमान घिसिङ स्वयं पूर्वसहमतिबाट पछि हटेको दाबी गरेको छ।
एकता विफल भएपछि दुबै पार्टीभित्र आन्तरिक छलफल तीव्र बनेको छ। रास्वपाले यसअघि नै आकस्मिक सचिवालय बैठक बोलाइसकेको छ भने उज्यालो नेपालले अब केन्द्रीय समिति बैठकमार्फत आगामी राजनीतिक बाटो तय गर्ने तयारी गरेको छ।
