

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टी सभापति शेरबहादुर देउवालाई राजीनामा दिएर समयअनुसार मार्गप्रशस्त गर्न सुझाव दिएका छन्। विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेतृत्वले अब पार्टीलाई नयाँ दिशातर्फ लैजानुपर्ने आवश्यकता औंल्याए।
उनले सभापति देउवाको निवासमा भइरहेको संस्थापन पक्षको भेलाप्रति संकेत गर्दै त्यहाँ महामन्त्रीद्वयले नचाहिने काम गरेको भन्दै आलोचना भइरहेको हुनसक्ने टिप्पणी गरे। “यी दुई महामन्त्रीले अराजनीतिक काम गरे, तपाईंलाई दुःख दिए भन्ने कुरा सुनाइँदै होला,” भन्दै थापाले त्यसप्रति असहमति जनाए।
महामन्त्री थापाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएको दिन सभापतिले गरेको प्रशंसाको स्मरण गर्न आग्रह गर्दै आफूहरू सभापतिप्रति असम्मान गर्न नभई सम्मान जोगाउन चाहेको स्पष्ट पारे। “यहाँ आएका सबै तपाईंलाई माया गर्नेहरू हुन्,” उनले भने, “सम्मान घट्न नदिन दाइ अब छाडिदिनुस् भनेका हौँ।”
