

काठमाडौं : विशेष महाधिवेशनलाई लिएर पार्टीभित्र मतभेद चर्किरहेका बेला नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकतामा असर पर्ने गतिविधि नगर्न अपील गरेका छन् ।
विशेष महाधिवेशन पक्षधरलाई लक्षित गर्दै जारी गरेको विज्ञप्तिमा खड्काले देशको विषम परिस्थितिलाई ध्यानमा राख्दै पार्टीभित्र देखिएको असहज अवस्था अन्त्य गर्न आवश्यक रहेको उल्लेख गरेका छन् । ‘यस अवस्थामा पार्टी एकतामा प्रतिकूल असर पर्ने कुनै पनि गतिविधि नगर्न सम्बन्धित सबैमा हार्दिक अपील गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।
खड्काले वैशाखमा हुने पार्टीको १५औं महाधिवेशनबाट कांग्रेसको नीतिमा आवश्यक परिमार्जन र नेतृत्व परिवर्तन हुने सुनिश्चितता रहेको दाबी गरेका छन् । साथै उनले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पार्टी पंक्तिलाई एकताबद्ध भएर अघि बढ्न आग्रह गरेका छन् ।
