

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पदमा दुई पटकभन्दा बढी बस्न नपाउने व्यवस्था संविधानमै गर्नुपर्ने प्रस्ताव गरेका छन् ।
विशेष महाधिवेशनको बन्दसत्रमा सांगठनिक प्रतिवेदन पेश गर्दै उनले एउटै व्यक्ति पटक–पटक प्रधानमन्त्री हुँदा देश र पार्टी दुवै असफल हुने अवस्था आएको बताए । डेढ दशकदेखि चुनाव भए पनि नेतृत्व नफेरिने अभ्यासले अस्थिरता बढाएको उनको भनाइ छ ।
अब कांग्रेसका तर्फबाट दुई कार्यकालभन्दा बढी प्रधानमन्त्री नहुने नीतिलाई संविधानमा लिपिवद्ध गर्न पहल गरिने उनले बताए । साथै समन्यायिक विकासका लागि सबै निर्वाचन क्षेत्रमा समान रूपमा बजेट विनियोजन गर्नुपर्नेमा उनले जोड दिए ।
