

केशवप्रसाद चौलागाईं
सुवर्णवर्णदीप्ताभां त्रिनेत्रां कमलाननाम्।
सिंहासनसमासीनां सर्वालङ्कारभूषिताम्।।
नीलोत्पलाभां वामे च दक्षिणे वरदाभयाम्।
खड्गचर्मधरां चोर्ध्वे वामदक्षिणयोः क्रमात्।।
चतुर्भुजां च मां तत्र पूजयेद् वृषकेतुना।
एवं ध्यायेन्महादेवीं स्वस्थानीं जगदीश्वरीम्।।
सुनको जस्तै पहेंलो वर्णले झलमल्ल परेकी, तीन नेत्र भएकी, कमलको फूल जस्तै मुख भएकी, सिंहासनमा बसेकी, रङ्ग–विरङ्गका अलङ्कार लगाएकी, चार हात भएकी, बायाँतिरका दुई हातमा अभयमुद्रा र निलो कमल लिएकी, दाहिनेतिरका हातमा वर र अभय मुद्रा तथा खड्ग र ढाल लिएकी—यस्ती चतुर्भुजा श्री स्वस्थानी परमेश्वरीको ध्यान गर्दछौँ भन्ने प्रार्थनाबाटै श्रीस्वस्थानी माता प्रतिको आस्था र महत्त्व बुझ्न सक्दछौँ।
प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म माता स्वस्थानीको व्रत तथा कथा परम्पराले सम्पूर्ण नेपालीहरूमा स्वस्थान र स्वराज्यप्रति आस्थावान बनाउँछ।

“आ यद् वामीयचक्षसा मित्र वयं च सूरयः।
व्यचिष्ठे बहुपाय्ये यतेमही स्वराज्ये॥”
अर्थात्—विस्तृत र बहुमतद्वारा जसको पालन हुन्छ, त्यस्तो स्वराज्यमा जनताका भलाइका लागि लागिरहौँ भन्ने ऋग्वेदको वचनअनुरूप स्वराज्यको अभ्यासका लागि श्रीस्वस्थानी माताले प्रेरित गरिरहनु हुन्छ।
सृष्टिदेखि शासनसम्मको इतिहास बताउने वेद र श्रीस्वस्थानी कथाबीचको पारस्परिक सम्बन्धलाई आत्मसात् गर्दै वर्तमानमा अभ्यासमा ल्याउन सहज बन्दछ। वेदमा सृष्टिका विषयमा जानकारी गराउने नासदीयसूक्त, हिरण्यगर्भसूक्त तथा पुरुषसूक्त भएझैँ श्रीस्वस्थानी व्रतकथामा शान्त्यतीत पदबाट शक्ति उत्पन्न हुँदै भगवान् शिवबाट मायाको उत्पत्ति, मायाबाट प्रकृति हुँदै आत्मासम्मको उत्पत्तिको वर्णन रहेको पाइन्छ।
शासनका सम्बन्धमा पनि वेदमा इन्द्रद्वारा स्वराज्यको स्थापना गरेको पाइन्छ भने श्रीस्वस्थानी कथामा नवराजको राजा बन्ने प्रसङ्गले शासकीय प्रबन्धको वर्णन पाइन्छ। एवं प्रकार संक्षेपमा श्रीस्वस्थानी र स्वराज्यको सम्बन्ध आदिकालदेखिनै रहेको बुझ्न सकिन्छ।
प्रत्येक वर्ष कठोर व्रत परम्पराअन्तर्गत काठमाडौं जिल्ला, शंखरापुर नगरपालिका, साँखु सहरस्थित शालीनदी किनारमा आयोजना हुने श्रीस्वस्थानी आराधना सबैका लागि आराधना, पूजन तथा दर्शनको स्थल बन्ने गर्दछ। देवमाला वंशावलीदेखि अनेकौँ स्रोतहरूले साँखुस्थित यहाँका अन्य स्थलहरू, पर्वतहरू समेतको वर्णन गरेको पाइएकाले यहाँको प्राचीनता र सत्यलाई बुझ्न मद्दत पुग्दछ।

प्रसिद्ध बज्रयोगिनी मन्दिर, अष्ट गणेश, अष्ट भैरव, अष्टमातृका सहितका मठमन्दिर, जात्रा–पर्व र पूजनका कारण यो क्षेत्र सिद्धक्षेत्रका रूपमा रहेको छ। अमूर्त सम्पदाका रूपमा श्रीस्वस्थानी व्रतकथा तथा बज्रयोगिनी जात्रा विश्वप्रसिद्ध रहेकाले श्रीस्वस्थानी र स्वराज्यको अवस्थिति निम्न कार्यक्रमहरूमार्फत जीवन्त बनाइराख्न सबैले प्रयास गर्नुपर्नेछ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ लाई समेत मध्यनजर गर्दै शान्ति र समृद्धिका लागि नमुना स्थानीय तह बनाउन सकिन्छ। वर्षदिनभरि नै संस्कृति, स्वराज्य र समाजवादको महोत्सवका रूपमा मनाउन सकिनेछ। दैवी शक्ति र मानवीय शक्तिको सफल अभ्यास देख्न सकिनेछ।
स्थानीय सरकार : संवैधानिक व्यवस्था र लोकतान्त्रिक अवधारणा।
न्यायिक समिति र स्थानीय सरकार : मेलमिलापको मार्गचित्र।
स्थानीय तह : कार्यसम्पादन तथा सुशासन।
जातीय छुवाछूत उन्मूलनमा धार्मिक क्षेत्रको भूमिका।
शान्ति, न्याय र मिलापका लागि अन्तरसांस्कृतिक सहिष्णुता।
द्वन्द्व रूपान्तरण र शान्ति स्थापनामा धर्म तथा आध्यात्मिक क्षेत्रको भूमिका।
स्वराज्य र मेलमिलाप : भावी नेपालको आधार।
संस्कृति, स्वराज्य र समाजवाद।
सम्पदा र शान्ति।
स्वराज्य भागवत।
स्वराज्य पूजन तथा यात्रा।
आर्यावर्त र क्षेत्रीय सुरक्षा : इण्डो–पेसिफिक र आर्यावर्तका रणनीतिक क्षेत्रहरू।
पशुपतिनाथ र विश्वव्यवस्था।
स्वराज्य, द्वैतवाद र नयाँ दर्शन।
एवं प्रकार मौलिक ज्ञान सिद्धान्तका आधारमा सुशासन, मानवअधिकार, कानुनी शासनजस्ता आधुनिक मान्यतालाई समेत समेट्दै शान्ति र समृद्धिमा श्रीस्वस्थानी र स्वराज्य–मेलमिलाप सिद्धान्तले सहयोग पुर्याउनेछ। सौम्य शक्तिका रूपमा विश्वमा नेपालको गौरव बढाउन मद्दत पुग्नेछ। धर्म र शासकीय सम्बन्धले विश्वमा प्रभाव पार्नेछ। श्रीस्वस्थानी र स्वराज्य–मेलमिलाप भावी विश्वको आधार बन्नेछ।
