


काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै ‘नागरिक करार’ नामक प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ। पार्टी सभापति रवि लामिछाने ले आइतबार सार्वजनिक गरेको करारपत्रमा आगामी पाँच वर्षभित्र कार्यान्वयन गर्ने पाँच प्रमुख योजना अघि सारिएको छ।
रास्वपाले सुशासन कायम गर्ने, मध्यम वर्गको विस्तार गर्ने, रोजगारी सिर्जना बढाउने, पूर्वाधार तथा डिजिटल कनेक्टिभिटी सुदृढ गर्ने र प्रवासी नेपालीसँगको सम्बन्ध सुदृढ गर्ने गरी पाँच प्राथमिकता तय गरेको जनाएको छ। ‘काम, काम, काम’ शीर्षकअन्तर्गत रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखिएको छ भने सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिबद्धता करारपत्रमा उल्लेख छ।
मध्यम वर्ग विस्तार योजनाअन्तर्गत गुणस्तरीय शिक्षा–स्वास्थ्यमा पहुँच बढाउने र आर्थिक अवसर विस्तार गर्ने लक्ष्य राखिएको छ। कनेक्टिभिटी शीर्षकमा सडक, ऊर्जा र डिजिटल पूर्वाधार विस्तारलाई जोड दिइएको छ भने प्रवास योजनामा गैरआवासीय नेपालीको लगानी र सीप उपयोग गर्ने नीति अघि सारिएको छ।
करारपत्रमार्फत लामिछानेले एकल बहुमतको सरकार गठन गर्न मत दिन मतदातासँग आग्रह गरेका छन्। बहुमत पाए पनि पाँच वर्षभित्र प्रतिबद्धता कार्यान्वयन गर्न नसके संविधान र विद्यमान कानुनअनुसार ‘राजनीतिक सजाय’ भोग्न तयार रहेको उल्लेख गर्दै अर्को निर्वाचनमा मतदाताले दण्डित गर्न सक्ने प्रतिवद्धता जनाइएको छ।


हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |