


काठमाडौँ : निर्वाचन अवधिभर मदिरा बिक्री–वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाइने भएको छ। निर्वाचन आयोगले अन्तिम मतपरिणाम घोषणा नभएसम्म उक्त व्यवस्था लागू गर्ने निर्णय गरेको हो।
आयोगले निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका, २०७८ अनुसार गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको सिफारिसका आधारमा गृह मन्त्रालयलाई आवश्यक निर्देशन दिएको जनाएको छ। आचारसंहिता पूर्ण कार्यान्वयन गराउन सबै जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायलाई सतर्क रहन भनिएको छ। जिल्ला आचारसंहिता अनुगमन समितिलाई निषेधित गतिविधि रोक्न र उल्लंघन भए तत्काल कारबाही गरी आयोगलाई जानकारी गराउन निर्देशन दिइएको छ।
मतदानका दिन एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार, सुरक्षा निकाय, विद्युत्, खानेपानी, ढल तथा दूरसञ्चार मर्मतका सवारी निर्वाध चल्नेछन्। कूटनीतिक नियोग र पासप्राप्त सवारीलाई पनि छुट हुनेछ। सार्वजनिक तथा निजी सवारी भने फागुन २० गते राति १२ बजेदेखि मतदान नसकिउञ्जेल सञ्चालनमा रोक लगाइनेछ। अन्तर्राष्ट्रिय तथा आन्तरिक उडान भने यथावत रहने जनाइएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |