


काठमाडौं : सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नम्बर १ को मतपरिणाम हाल सार्वजनिक नगर्न आदेश दिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेजसम्बन्धी विवादमा सुनुवाइ गर्दै अदालतले यस्तो आदेश दिएको हो।
न्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले निर्वाचन आयोगलाई उक्त निर्णयसँग सम्बन्धित सम्पूर्ण फाइलसहित फागुन २९ गते उपस्थित हुन आदेश गरेको छ। साथै आदेश प्राप्त भएको मितिले सात दिनभित्र विपक्षी पक्षले महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नुपर्ने पनि अदालतले उल्लेख गरेको छ।
रास्वपाका उम्मेदवार कमलको उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो। सोही निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले मतगणना सम्पन्न भए पनि अन्तिम मतपरिणाम घोषणा नगर्न अन्तरिम आदेश जारी गरेको हो।
अदालतको आदेशसँगै धनुषा–१ को निर्वाचन परिणामको औपचारिक घोषणा भने केही समयका लागि रोकिएको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |