


काठमाडौँ : अविरल वर्षापछि रोशी खोलामा आएको बाढीका कारण फसेका यात्रुहरूलाई सुरक्षाकर्मीको सक्रियतामा सकुशल उद्धार गरिएको छ। काभ्रेपलाञ्चोकस्थित उक्त क्षेत्रमा सोमबार साँझदेखि बढेको खोलाको बहावबीच पाँचवटा माइक्रोबसमा सवार ८९ जना यात्रु जोखिममा परेका थिए।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार निरन्तर वर्षासँगै रोशी खोलाको सतह बढेपछि सवारीसाधन बीच धारमै अड्किएका थिए। नेपाल प्रहरी, ट्राफिक प्रहरी तथा अन्य सुरक्षा निकायको संयुक्त प्रयासमा मंगलबार बिहान करिब १ बजे उद्धार कार्य सम्पन्न गरिएको हो। उद्धार गरिएका सबै यात्रुलाई सुरक्षित रूपमा गन्तव्यतर्फ पठाइएको प्रहरीले जनाएको छ।
प्रहरीले सम्भावित जोखिमलाई ध्यानमा राख्दै सवारी रोकिनु पर्ने अवस्थामा पनि लापरवाहीपूर्वक गाडी चलाएको आरोपमा पाँचवटा माइक्रोबसका चालकलाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको छ।
वर्षायाममा विशेषगरी बीपी राजमार्ग हुँदै यात्रा गर्दा मौसम र सडक अवस्थाबारे पूर्वजानकारी लिन तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

हामी क्षमा चाहन्छौं यो पोस्ट धेरै पुरानो भएको ले कमेन्ट बक्स बन्द गरेको छौं |